मिशेक मसाम्वु (जिम्बावे), बन्द ढोकाभित्र अब सुरक्षित महसुस हुँदैन, २०१४।
प्रिय मित्रहरू,
सामाजिक अनुसन्धानको लागि त्रिमहादेशीय संस्था (Tricontinental: Institute for Social Research) को तर्फबाट हार्दिक अभिवादन।
सन् १९४३ को बङ्गालको अनिकालदेखि १९७७ मा वाममोर्चाको सरकार निर्वाचित हुँदासम्मको अवधिमा भारतको पश्चिम बङ्गालका कम्युनिस्ट आन्दोलनहरूले मजदुर, किसान, शरणार्थी, विद्यार्थी र सांस्कृतिककर्मीहरूबिचको योजनाबद्ध पहलकदमीद्वारा आफ्नो शक्ति निर्माण गरेका थिए। खाद्य अधिकार र भूमिसुधारको आन्दोलन, ट्रेड युनियन शक्तिको निर्माण, शरणार्थीहरूको परिचालन तथा राज्य दमनविरुद्धको प्रतिरोधले वाम आन्दोलनका तत्कालीन मागहरू पूरा गर्ने कार्य मात्र गरेन, यसले संघर्षका मोर्चाहरू र सङ्गठकहरूको सक्षम पुस्ताहरू निर्माण गर्यो। साथै, समाजका विभिन्न तहका जनताले भोगेका पीडालाई एउटै साझा वर्गीय संघर्षका विभिन्न अभिव्यक्तिका रूपमा बुझ्न सक्ने चेतना र राजनीतिक संस्कृतिको विकास समेत गर्यो। सन् १९७७ को निर्वाचनको विजयले रातारात सामाजिक शक्ति पैदा गरेको थिएन, बरु त्यसले तीन दशकभन्दा बढी समयदेखि निरन्तर निर्माण हुँदै आएको सामाजिक शक्तिलाई वास्तविक रूपमा प्रकट गरेको थियो।
कहिलेकाँही लोकप्रिय ऊर्जालाई नै सामाजिक शक्ति मान्ने भ्रम हुन्छ। कुनै राजनीतिक नेताले ठूलो भीड आकर्षित गर्दा, कुनै नारा सामाजिक सञ्जालमा द्रुत रूपमा फैलिँदा, वा कुनै विरोध प्रदर्शनले सडक भरिँदा आन्दोलन शक्तिशाली भयो भन्ने बुझ्दछन्। यी कुराहरू हेर्दामा, उत्साह वा क्षणिक गतिको सङ्केत हो कि भन्न सकिन्छ। तर यी सङ्गठित शक्तिको प्रमाण भने होइनन्। भीड तितरबितर हुन सक्छ, चुनाव हारिन सक्छ, र नारा स्थिर नरहन सक्छ। सामाजिक शक्ति त्योभन्दा गम्भीर विषय हो। यो समाजमा क्रियाशील शक्ति, जनताका आकाङ्क्षाहरूलाई दिशानिर्देश दिने, र विश्वप्रतिको आफ्नो दृष्टिकोणलाई त्यस युगको सामान्य चेतना बनाउन सक्ने त्यो वर्गको सङ्गठित क्षमता हो।
(जेरार्ड गाबायेन, सेनेगल — मीठा सम्झनाहरू, २०१९)
पुँजीपति वर्गसँग सामाजिक शक्ति केवल कारखाना, बैंक, खानी, डिजिटल प्लेटफर्म वा विशाल सम्पत्तिको स्वामित्व भएकैले मात्र हुँदैन, बरु उनीहरूले आफ्ना वर्गीय हितलाई सम्पूर्ण समाजकै हितका रूपमा प्रस्तुत गर्न सक्ने संस्थाहरू निर्माण गर्दछन्। उनीहरूका सञ्चारमाध्यमले निजी सम्पत्तिको रक्षालाई स्वतन्त्रताको रक्षाका रूपमा प्रस्तुत गर्छन्। अर्थशास्त्रीहरूले सार्वजनिक खर्चमा गरिने कटौतीलाई वित्तीय जिम्मेवारी भन्दछन्। शैक्षिक संस्थाहरूले प्रतिस्पर्धालाई मानव स्वभावको अभिव्यक्ति हो भनेर सिकाउँछन्। कानुनले खाना, आवास र सम्मानजनक जीवनको अधिकारभन्दा सम्पत्तिको अधिकारलाई बढी महत्त्व दिन्छ। पुँजीपति वर्गले सबैलाई आफ्नो विश्वदृष्टिकोणमा विश्वस्त गराइराख्नु पर्दैन, उसले केवल आफ्ना अवधारणाहरूलाई स्वाभाविक देखिने बनाउनुपर्दछ। सम्मानजनक छलफलका सीमाहरू तोक्नुपर्दछ र कुनै पनि वैकल्पिक विचार विचारणीय हुनुअघि नै अव्यावहारिक साबित गरिदिनुपर्छ। शासक वर्गले आफ्नो वर्गीय स्वार्थलाई सिङ्गो समाजको हितका रूपमा प्रस्तुत गर्दै सामाजिक सहमति हत्याउने सामर्थ्य नै पुँजीवादी प्रभुत्व हो।
(रिगो बेन्वा, हाइटी — बजार, १९६५)
पुँजीवादी सामाजिक शक्ति सहमतिमा मात्र नभई सहमति र दबाबको संयोजनमा निर्भर गर्दछ। सञ्चारमाध्यम र विद्यालय मात्र होइन, प्रहरी, अदालत र कारागार पनि त्यसका आधारस्तम्भ हुन्। उदाहरणका लागि, हड्तालमाथि प्रहरी दमन हुनुअघि पत्रपत्रिकाहरूले हड्तालकर्ताहरूलाई अवसरवादी वा स्वार्थीका रूपमा चित्रित गराउँछन्। शासक वर्गले आफ्नो विश्वदृष्टिकोणलाई साझा चेतनामा परिणत गरेर सामाजिक शक्तिको अभ्यास गराउँछ। सहमति डगमगाउन थालेपछि त्यो विश्वदृष्टिकोणको रक्षाका लागि दमनकारी संस्थाहरूलाई तैनाथ गराउँदछ।
यद्यपि, जबसम्म पुँजीवादी समाजका प्रतिज्ञाहरू र श्रमजीवी वर्गको जीवनको यथार्थबिच निरन्तर टकराव भइरहन्छ, तबसम्म पुँजीवादी प्रभुत्व कहिल्यै पूर्ण हुँदैन। उदाहरणका लागि, भारतमा भर्खरै युवाहरूको नेतृत्वमा भएका विरोध प्रदर्शनहरूले तीव्र विरोधाभासलाई उजागर गरेका छन्। स्नातक उत्तीर्ण युवाहरूलाई शिक्षाले रोजगारीको ग्यारेन्टी गर्छ भनिन्छ, तर अध्ययन सकिएपछि उनीहरूलाई बेरोजगार र असुरक्षित कामले पर्खिरहेको हुन्छ। यस्ता विरोधाभासहरूले नयाँ साझा चेतना निर्माणको सम्भावना सिर्जना गर्छन्, तर कष्ट वा पीडाले स्वतः समाजवादी चेतना पैदा गर्न भने सक्दैन। असुरक्षाले एकतालाई जन्म दिन पनि सक्छ, वा यसको प्रयोग गरेर सर्वसाधारणलाई नै आप्रवासी, उत्पीडित जातजाति, धार्मिक वा जातीय अल्पसङ्ख्यक, महिला वा अन्य मजदुरहरूलाई दोष दिन उक्साउन पनि सकिन्छ। पुरानो वर्चस्वको संकटले दुईवटा सम्भावनाको ढोका खोल्छ: एकातर्फ संगठन र वर्गीय संघर्षमार्फत समाजवादी रूपान्तरणको बाटो, र अर्कोतर्फ डर, आक्रोश र बलिको बोको बनाउँदै अति दक्षिणपन्थी फासीवादी उभारको बाटो। परिस्थितिहरू आफैँ बोल्दैनन्। ठोस परिस्थितिको व्याख्या गरिनुपर्छ, र तिनको व्याख्याका लागि गरिने सङ्घर्ष नै सामाजिक शक्तिको सङ्घर्षको एक अंश हो। तर व्याख्या अमूर्त रूपमा गरिनुहुँदैन। यो सामूहिक गतिविधिमार्फत निर्माण हुन्छ।
(सुजीवा कुमारी, श्रीलंका — समयको नक्सा, २०१८)
जमिनमाथिको स्वामित्वको लागि किसानहरूले गर्ने सङ्घर्षले सम्पत्तिको अधिकारको पवित्रतालाई चुनौती दिन्छ भने महिलाहरूले गर्ने सङ्घर्षले घरभित्रको प्रभुत्व निजी मामिला मात्र नभई शक्तिको सामाजिक सङ्गठनको अंश हो भन्ने देखाउँछ। प्रत्येक गम्भीर सङ्घर्षमा शिक्षा हुन्छ जहाँ मानिसहरूले उनीहरूको साथमा को उभिन्छ, कसले उनीहरूको पक्ष लिन्छ र कुन संस्थाहरूले विद्यमान व्यवस्थाको रक्षा गर्दै तटस्थताको दाबी गरिरहेका छन् भन्ने सिकाइ हुन्छ। उनीहरूले आफूभित्र र एक अर्कामा त्यस्ता क्षमताहरू फेला पार्छन्, जसलाई पुँजीवादी समाजले अवमूल्यन गर्न सिकाउँछ। त्यसैले सामाजिक शक्ति संवादबाट मात्र निर्माण गर्न सकिँदैन। पोस्टर, पत्रपत्रिका, भिडियो र सामाजिक सञ्जालका अभियानहरू महत्त्वपूर्ण छन्, तर तिनीहरू सङ्गठनका विकल्प हुन सक्दैनन्। मानिसहरूले सही तर्क भेट्दैमा संसारप्रतिको आफ्नो बुझाइ बदल्दैनन्। सामूहिक कार्यमा सहभागितामार्फत चेतना परिवर्तन हुन्छ।
परिचालनले मानिसहरूलाई कुनै घटनाको वरिपरी भेला गराउँछ। सङ्गठनले उनीहरूलाई एकताबद्ध राख्छ र निरन्तर सङ्घर्षका लागि उनीहरूको क्षमता अभिवृद्धि गर्छ। परिचालनले आक्रोश व्यक्त गर्न सक्छ। सङ्गठनले आक्रोशलाई स्मृति, अनुशासन, नेतृत्व र रणनीतिमा रूपान्तरण गर्छ। जनउभार सङ्गठित क्षमतामा परिणत हुँदा सामाजिक शक्तिको उदय हुन्छ। यो ट्रेड युनियनहरू, किसान सङ्घहरू, महिला सङ्गठनहरू, टोल सुधार समितिहरू, राजनीतिक स्कूलहरू, सांस्कृतिक संस्थाहरू, सामुदायिक मिडिया र क्रान्तिकारी पार्टीहरूका माध्यमबाट निर्माण हुन्छ। यी संस्थाहरूले एउटा सङ्घर्षको सिकाइबाट अर्को सङ्घर्षको विकास गर्छन्। यस्ता सङ्गठनहरू निर्माण गर्ने अविचलित कार्यमार्फत सामाजिक शक्तिले नयाँ समाजका लागि आवश्यक क्षमताहरूको विकास गर्दछ।
(दाउदा बा, सेनेगल — ‘डिसअर्डर अर्बेन’, सहरी अव्यवस्था, २०२१)
श्रमजीवी वर्गको खण्डीकरण पूँजीको एउटा शक्ति हो। श्रमजीवी वर्ग कारखाना र खेतबारी, कार्यालय र विद्यालय, घरपरिवार र अनौपचारिक बजारहरूमा फैलिएको छ। उत्पादन र सामाजिक पुनःउत्पादनका लागि अत्यावश्यक पर्ने कामदारहरूले प्रायः आफ्ना राजनीतिक अधिकारहरू खोसिएको र समाजमा उनीहरूको योगदानलाई बदनाम गरिएको ठान्दछन्। पूँजीले श्रमजीवी वर्गभित्र विद्यमान विखण्डन, असुरक्षा र अवमूल्यनलाई योजनाबद्ध रूपमा सामाजिक विभाजनमा रूपान्तरण गर्छ। औपचारिक क्षेत्रका श्रमिकलाई अनौपचारिक श्रमिकविरुद्ध, नागरिकलाई प्रवासीविरुद्ध, सहरी श्रमिकलाई किसानविरुद्ध र पुरुषलाई महिला मुक्तिविरुद्ध उभ्याउँछ। यसरी पूँजीले शोषित वर्गहरूको साझा वर्गहितलाई विभाजित गर्दै उनीहरूबीच अविश्वास, भय र प्रतिस्पर्धा पैदा गर्दछ र अन्ततः वर्गीय एकताको सम्भावनालाई कमजोर बनाउँछ। धार्मिक, जातीय, साम्प्रदायिक, र भाषिक भिन्नताहरूलाई स्थायी राजनीतिक विभाजनको रेखा बनाइन्छ। समाजवादी संगठनको दायित्व यी भिन्नताहरूलाई उपेक्षा गर्नु वा हरेक संघर्षलाई अमूर्त वर्गको एकताभित्र सीमित गर्नु होइन। बरु, उत्पीडनका विविध रूपहरू कसरी एउटै साझा सामाजिक व्यवस्थासँग जोडिएका छन् भन्ने कुरा उजागर गर्दै वास्तविक एकता निर्माण गर्नु हो।
हाम्रो परम्परामा यो एकताको निर्माणलाई ‘ऐतिहासिक मोर्चा’को निर्माण भनिन्छ। अस्थायी सम्झौतामा मात्र सीमित नभई साझा राजनीतिक परियोजनाद्वारा बाँधिएको यस्तो सामाजिक शक्तिहरूको मोर्चा मूलतः श्रमजीवी वर्गमा आधारित हुनुपर्छ। पुँजी, साम्राज्यवाद, पितृसत्ता, नस्लवाद, जातीय उत्पीडन र प्रकृतिको विनाशद्वारा जीवन अस्तव्यस्त पारिएकाहरूको आकाङ्क्षाहरूलाई सम्बोधन गर्ने हुनुपर्छ। राजनीतिक कार्यक्रम कुनै कार्यसूची जस्तो हुनुहुँदैन, जहाँ प्रत्येक सामाजिक समूहलाई छुट्टाछुट्टै माग तोकिएको हुन्छ। यसले सङ्कटको सुसंगत व्याख्या र समाजका लागि विश्वसनीय दिशा प्रदान गर्नुपर्दछ। शासक वर्गले समाजलाई पूँजीको स्वतन्त्रता वरिपरि राख्न चाहन्छ तर समाजवादी मोर्चाले समाजलाई श्रमको गरिमा र जीवनको पुनर्उत्पादनको आधारमा उभ्याउनुपर्दछ। यसै जगमा टेकेर मात्र सार्वजनिक स्वास्थ्य, भूमिसुधार, सम्मानजनक रोजगारी, महिला मुक्ति, वातावरणीय संरक्षण र राष्ट्रिय सार्वभौमिकता एउटै साझा अभियानका परिपूरक अङ्गका रूपमा रहन्छन्। सामाजिक शक्ति कुनै सन्देश प्रवाहको रणनीतिबाट होइन, बरु सङ्गठन र सङ्घर्षको माध्यमबाट राजनीतिक नेतृत्वको निर्माण गर्दै प्रभुत्वशाली बन्ने गर्दछ।
(कार्लोस मेरिडा, मेक्सिको — चराहरूको उत्सव, १९५९)
शासक वर्गले जीवन र जगतको बारेमा एउटा भावनात्मक व्याख्या प्रस्तुत गर्दछ। यसले मजदुरहरूलाई उनीहरूका छिमेकीहरू खतरनाक छन्, विदेशीहरूले उनीहरूको भविष्य खोसिरहेका छन्, गरिबी शर्मनाक कुरा हो, र सामूहिक कार्य निरर्थक छ भनेर झुक्याउँछ। असन्तोष र आक्रोशलाई बढावा दिन्छ तर असन्तुष्टिलाई व्यवस्थाको बुझाइमा विकास हुन दिँदैन। वैध आक्रोशलाई आफूभन्दा पनि कम शक्तिशालीहरूतर्फ मोडिदिन्छ। यो त्यस्तो भावनात्मक धरातल हो जहाँ विशेष प्रकारको उग्र दक्षिणपन्थले आफूलाई सङ्गठित गर्ने गर्दछ। यसले बहिष्कारमा परेको महसुस गर्नेहरूलाई अपनत्व, अपमानित भएकाहरूलाई स्वाभिमान, र जीवन असुरक्षित भएकाहरूलाई सुरक्षा प्रत्याभूतिको नाटक मञ्चन गर्दछ। शासक वर्गका व्याख्याहरू झूटा छन्, तर यसले सम्बोधन गर्ने पीडा भने वास्तविक हो।
तथ्याङ्कमा मात्र सीमित हुने वा तथ्याङ्कीय उपलब्धिले मात्र जवाफ दिने समाजवादी राजनीति कमजोर हुन्छ। राजनीतिले खोक्रा नाराका रूपमा होइन, सङ्गठनमार्फत सिर्जना गरिएका जीवन्त अनुभवका माध्यमबाट स्वाभिमान, भाइचारा, साहस र आशा जगाउन सक्नुपर्दछ। यस अभियानमा सांस्कृतिक गतिविधिको महत्त्वपूर्ण भूमिका रहन्छ। गीत-संगीत, कविता, नाटक, प्रहसन र सामूहिक संस्कारहरूले ऐतिहासिक स्मृतिलाई जीवित राख्ने गर्दछन् र नीतिगत दस्तावेजहरूमा पूर्ण रूपमा समेट्न नसकिने भविष्यको स्पष्ट चित्र प्रस्तुत गर्दछन्। क्रान्तिकारी संस्कृतिले मानिसहरूलाई कुन विषयमा विरोध गर्ने भन्ने मात्र सिकाउँदैन, बरु उनीहरू कस्तो समाज र पहिचानका लागि सङ्घर्ष गरिरहेका छन् भन्ने मार्गचित्र पनि देखाउँछ। सामाजिक शक्ति निर्माणका लागि विचारको लडाइँ अनिवार्य छ, किनकि शासक वर्गले आफ्नो प्रभुत्वलाई साझा चेतनाको रूपमा स्थापित गर्ने कुचेष्टा गर्दछ। यो प्रक्रियामा भावनाहरूको लडाइँ पनि उत्तिकै आवश्यक देखिन्छ, जहाँ आम मानिसको साझा चेतना तर्कले मात्र नभई डर, चाहना, लज्जा र आशाजस्ता मानवीय भावनाहरूले निर्धारित हुन्छ।
(ज्वे मोन, म्यानमार — शीर्षकविहीन, २०१३)
सामाजिक शक्ति अपरिहार्य छ, तर यो पर्याप्त छैन। कुनै आन्दोलनले बलिया लोकप्रिय जनसङ्गठनहरूको निर्माण गर्न सक्दछ तर पुँजीपति वर्गले लगानी, उत्पादन र राज्यका दमनकारी संयन्त्रहरूमाथि आफ्नो नियन्त्रण कायम राखेको हुन्छ। त्यसैले समाजवादी परियोजनाले सामाजिक शक्तिलाई सरकारी शक्तिमा रूपान्तरण गर्ने र स्वयं राज्यको पुनःसंरचना गर्ने रणनीतिको विकास गर्नुपर्दछ। तर चुनावी विजयलाई यो प्रक्रियाको पूर्णता मान्ने भ्रम पाल्नु हुँदैन। कुनै वामपन्थी पार्टीले बैंक, निगम, वरिष्ठ कर्मचारी, न्यायाधीश, सैन्य अधिकारी र मिडिया एकाधिकारहरू पुरानै शासक वर्गको प्रभावमा रहँदा नै सरकार बनाउन सक्छ। वामपन्थी सरकारले जनताको स्वतन्त्र सङ्गठनलाई सुदृढ बनाउनुपर्दछ। जनसङ्गठनहरू मन्त्रीहरूका केवल निष्क्रिय रक्षक मात्र बन्नु हुँदैन। कुनै परियोजनालाई एउटा सरकार, एउटा चुनाव वा नेताहरूको एउटा पुस्ताभन्दा परसम्म जीवित राख्ने पद्धति नै सामाजिक शक्ति हो।
प्रायः जसो राजनीतिलाई बाली भित्र्याउने कोणबाट मात्र हेर्ने गरिन्छ। राजनीति भनेको कसले चुनाव जित्यो, कसले सरकार बनायो, कुन कानुन पारित भए, र अन्ततः राज्यसत्ता कसको हातमा पुग्यो भन्नेमा सीमित हुन्छ। तर हरेक बाली काट्नुअघि लामो र अथक मिहिनेत गरिएको हुन्छ। बिउ छानिन्छ र रोपिन्छ, माटो सुधारिन्छ, पानी हालिन्छ, र साना बिरुवाहरूलाई घाम र रोगबाट जोगाइन्छ। जब बाली उठाइन्छ, यी अधिकांश फसल काट्नुअघिका कर्महरू बिर्सिइन्छ। यसरी नै सामाजिक शक्तिको निर्माण पनि निरन्तरको परिश्रम र धैर्यताको परिणाम हो। एउटा राजनीतिक कार्यकर्ताले दिनभरिको श्रमपछि राजनीतिक कक्षा सञ्चालन गर्छ। ट्रेड युनियन सङ्गठकले जागिर छुट्ने डरमा रहेका मजदुरलाई ढाडस दिन्छ। महिलाहरूले हिंसाविरुद्ध समिति गठन गर्छन्। किसानहरूले कृषि ऋणको ढाँचाबारे अध्ययन गर्छन्। युवाहरूले राज्यले बेवास्ता गरेको टोलमा सांस्कृतिक समूह खडा गर्छन्। यी सबै प्रयासहरूबाट परिवर्तनको बिउ रोपिन्छ। यद्यपि, यी कार्यहरू एक्लाएक्लै रूपान्तरणका लागि पर्याप्त हुँदैनन्। तर यिनै जगमा उभिएर गरिने जनताको एकीकृत र सामूहिक प्रयासले मात्र समाजको वास्तविक रूपान्तरण सम्भव हुन्छ।
मानिसहरूमा क्षमताको कमी छैन, कमी त केवल त्यसको पहिचान, संयोजन र परिचालन गर्ने संगठित संरचनाको छ। सामाजिक शक्तिको वास्तविक उदय तब सुरु हुन्छ, जब मानिसहरूमा आफूलाई इतिहासका मौन साक्षी मात्र होइन आफ्नै भाग्य र इतिहासका वास्तविक निर्माता हौँ भन्ने आत्मबोध हुन्छ।
न्यानो अभिवादनसहित,
विजय |








